‘अपरेसन सिन्दूर’ पछि पहिलो पटक पाकिस्तानी मन्त्री भारत भ्रमणमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २९ कात्तिक । पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मसुद मलिक अर्को हप्ता भारत भ्रमणमा जाने भएका छन ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार मन्त्री मलिक नोभेम्बर २० देखि २२ सम्म नयाँ दिल्लीमा आयोजना हुने सांघाई सहयोग संगठनको कार्यक्रममा सहभागी हुनेछन ।

सांघाई सहयोग संगठनको सदस्य राष्ट्र भएकाले भारतले पाकिस्तानलाई यस कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएको थियो। यसका लागि गत महिना पाकिस्तानका राष्ट्रिय सम्पदा तथा संस्कृति मन्त्री औरंगजेब खान खिचीलाई निमन्त्रणा दिइएको थियो।

‘अपरेसन सिन्दूर’ पछि कुनै पाकिस्तानी मन्त्रीले भारत भ्रमण गर्न लागेको यो पहिलो पटक हुनेछ। यसअघि, सन् २०२३ को मे महिनामा पाकिस्तानका तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एससीओ बैठकमा सहभागी हुन गोवाको भ्रमण गरेका थिए ।

भारतले एससीओ (SCO) का सबै १० सदस्य राष्ट्रहरूलाई ‘सभ्यतागत संवाद’ कार्यक्रममा सहभागी हुन आमन्त्रित गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस कार्यक्रमका लागि सबै सदस्य राष्ट्रहरूलाई स्वागत गर्न भारत तयार रहेको बताएका छन्।

‘एससीओ सिभिलाइजेसनल डायलग फोरम’ को पहिलो सत्र यसै महिनाको अन्त्यतिर नयाँ दिल्लीमा आयोजना हुनेछ। युरेसियाभरि सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले भारतले यो पहल सुरु गरेको हो।

यो कार्यक्रमको घोषणा रक्षामन्त्री राजनाथ सिंहले अक्टोबर २० मा ताजिकिस्तानको राजधानी दुशान्बेमा गरेका थिए, त्यस समयमा एससीओ को बैठकमा सहभागी हुन उनी त्यहाँ पुगेका थिए ।

पाकिस्तानले सन् २०२६ सेप्टेम्बर १ देखि लागू हुने गरी सन् २०२६–२७ को अवधिका लागि एससीओ सदस्य राष्ट्रहरूको ‘सरकार प्रमुखहरूको परिषद्’ को आलोपालो अध्यक्ष पद सम्हालेको छ। एससीओमा भारत, पाकिस्तान, चीन, रुस, इरान, बेलारुस, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान समावेश छन्।

मलिकको यो भ्रमण दुई देशबीचको द्विपक्षीय वार्ताका लागि होइन; उनी एससीओ सदस्य राष्ट्रको प्रतिनिधिको हैसियतमा उक्त कार्यक्रममा सहभागी हुनेछन्।

नयाँ दिल्लीमा नोभेम्बर २० देखि २२ सम्म आयोजना हुने यो शिखर सम्मेलन विभिन्न सभ्यता र संस्कृतिहरूका बीच संवादलाई बढावा दिन तथा आपसी संलग्नता अभिवृद्धि गर्नमा केन्द्रित हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्