काठमाडौं : नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औं महाधिवेशनअन्तर्गत आजदेखि समानान्तर वडा अधिवेशन सुरु गर्दैछ।
संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाइरहेकै बेला इतर समूहका रूपमा देउवा पक्षले छुट्टै अधिवेशन थालेको हो।
देउवा समूहले आगामी मङ्सिर २१ देखि २३ गतेका लागि केन्द्रीय महाधिवेशन तोकेको छ।
तय गरिएको कार्यतालिका अनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन हुनेछ। यस कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत औपचारिक जानकारी गराइसकिएको छ।
१४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको देउवा पक्ष संस्थापनको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन रोक्नुपर्ने माग यो समूहको थियो। तर, संस्थापन पक्ष असोज ३ गतेदेखि नै प्रक्रियामा अघि बढेपछि देउवा पक्षले पनि समानान्तर महाधिवेशनको बाटो रोजेको हो।
वडा अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिका तर्फबाट ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइएको नेता किरणराज पौडेलले जानकारी दिए। उनका अनुसार ५६ जिल्लामा निर्वाचन संयोजकसमेत तोकिसकिएको छ।
यसैबीच, महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोबलका साथ अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्। उनले वडा तहदेखि नै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।









