काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले ध्यानाकर्षण गराएको हो।
विगत पाँच दशकभन्दा बढी समयदेखि एलपी ग्यासको कारोबार गर्दै आएका उद्योगहरूले विभिन्न विपत्तिमा पनि स्रोत साधन परिचालन गरी अहोरात्र सेवा प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्राकृतिक विपत्तिको समयमा ग्यास आपूर्ति र बिक्री वितरण सहज बनाउन खटिरहेको अवस्थामा मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित र अशोभनीय अभिव्यक्ति आउनु खेदजनक रहेको सङ्घले जनाएको छ।
विषम परिस्थितिमा अर्को पक्षलाई दोष देखाएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले समस्याको समाधान नहुने भन्दै निर्मम र वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने सङ्घको भनाइ छ। आधा सिलिन्डर (७.१ केजी) ग्यासको व्यवस्था १५ दिनका लागि भनिए तापनि चार महिनासम्म निरन्तरता दिइनु र सङ्घले २०८२ चैत १६ गते नेपाल आयल निगममा पत्र पेस गरी भरी सिलिन्डरमा फर्कन अनुरोध गर्दा पनि ध्यान नदिइनुले समस्या बढेको विज्ञप्तिमा भनिएको छ।
सरोकारवाला निकायहरूमा परिमार्जनका लागि अनुरोध गर्दा वास्ता नगरिनु, ग्यास आयातमा तदारुकता नदेखाइनु, पूर्ण सिलिन्डर लागू भएपछि सिलिन्डरको माग अचानक वृद्धि हुनु र पृथ्वी राजमार्गको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनुजस्ता विषयले वर्तमान अभाव सिर्जना गरेको सङ्घले प्रस्ट पारेको छ।
कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा कानुनी कारबाही हुनुपर्नेमा सङ्घ सधैँ साथमा रहेको तर बिनाप्रमाण ग्यास उद्योगीलाई दोषी देखाई भौतिक कारबाहीको सङ्केत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ। सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कठिन समयमा सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यका साथ सरकारको व्यावहारिक निर्देशन पालना गर्न र सहकार्य गर्न सङ्घ सधैँ प्रतिबद्ध रहेको जनाइएको छ।











