‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग नेकपाको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई जोड्दै यस्तो अभियान सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ, म आह्वान गर्दछु,’ उनले भने।

दुलालले प्रधानमन्त्री बालेन शाहले भीभीआईपी प्रोटोकल पालना नगरेको भन्दै समेत आपत्ति जनाए। हालै प्रधानमन्त्री शाहले गरेको कास्की तथा मुस्ताङ भ्रमणलाई संकेत गर्दै उनले प्रधानमन्त्रीले आफ्नो पदअनुसारको प्रोटोकल ख्याल गर्नुपर्ने बताए।

‘सरकारबिनाको राज्य, प्रधानमन्त्रीबिनाको सरकार कल्पना गरिएको हुँदैन। प्रधानमन्त्री भएपछि सार्वजनिक व्यक्ति नै हुन्छ। प्रधानमन्त्रीले प्रोटोकल ख्याल गर्नुपर्छ,’ उनले भने।

त्यस्तै, दुलालले बढ्दो महँगीबारे अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराए।

नेपालको पानी निर्यातका लागि विभिन्न कम्पनीहरूले अनुमति पर्खिरहेको उल्लेख गर्दै उनले आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिनसमेत सरकारसँग आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्