काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजदेखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला भएको छ। यसअघि आपतकालीन सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिई परीक्षण हुँदै आएको सुरुङमार्ग आजदेखि कार, जिप र भ्यानका लागि खुला गरिएको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग अझै परीक्षणकै क्रममा रहेकाले हाल चारपाङ्ग्रे साना सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको हो।
‘अहिले पनि सुरुङमार्ग परीक्षणकै क्रममा छ। सोही क्रममा आजबाट साना सवारी खुला गरिएको हो,’ जैसीले भने।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत ११ साउनमा सुरुङमार्गको उद्घाटन गरेका थिए।
हाल सुरुङमार्ग बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा मात्रै सञ्चालन हुनेछ। अति प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीलाई भने सुरुङमार्गमा प्रवेश दिइने छैन।
ठूला सवारीसाधनलाई परीक्षण अवधि पूरा भएपछि सुरुङमार्गबाट सञ्चालन गर्न दिने तयारी छ।
जैसीका अनुसार अवस्था हेरेर आगामी एक–दुई दिनमै सुरुङमार्गमा दुईतर्फी सवारी सञ्चालन गर्ने योजना छ। सञ्चालन समय पनि क्रमशः विस्तार गर्दै बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र त्यसपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने तयारी गरिएको छ।










