महाधिवेशनअघि विभिन्न पदमा दाबी गर्नेलाई रास्वपाको यस्तो निर्देशन

खबर बुक
  • ख-
  • ख+

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनअगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकताभन्दा बढी प्रचारप्रसार देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनले भने,‘अनुशासनमा रहने र पार्टीको निर्वाचन आचारसंहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ । पार्टीको महाधिवेशनअगावै आवश्यकताभन्दा बढी प्रचारप्रसार भएको होकी भन्ने पनि आएको थियो । त्यसो नगरी पार्टीलाई सौहार्दपूर्ण रूपमा एकढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकाले निर्वाचन आचारसंहिताभित्र रहेर सबै सदस्यलाई प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ ।’

उनले विद्युतीय भोटिङ मेशिनको प्रयोगमार्फत महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरू गरेको जानकारी दिए।

त्यस्तै उनका अनुसार अहिलेसम्मको प्रस्तावमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको छ ।

त्यस्तै बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी तिरेको हुनुपर्ने र नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।

‘अधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरुले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने लेवी नतिरे प्रवेशमा रोक लगाउने छ त्यसैले लेवी तिर्नको लागिआजको बैठकबाट अनुरोध गरेको छ,’बुर्लाकोटीले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्