१४ जेठ ,काठमाडौँ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या वृद्धि भएको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको देखाएको छ।
सर्वेवेक्षण अनुसार आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७७० पुगेको छ।
नेपालमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक विश्वविद्यालय गरी जम्मा २१ विश्वविद्यालयका साथै संघ अन्तर्गत ६ र प्रदेश अन्तर्गत २ स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।
सङ्घीय अन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत ६ विश्वविद्यालय पूर्णरूपमा सञ्चालनमा रहेका छन् भने ३ केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या ५७ पुगेको सर्वेक्षणमा उल्लेख छ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ भने कृषिमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा कम ०.१५ प्रतिशत रहेको छ।
व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत रहेका रहेको सर्वेक्षणमा उल्लेख छ।










