काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट छोरा ऐन महर विजयी हुँदा कांग्रेसमा रहेका उनका बुबा रामबहादुर महर पार्टी कारबाहीमा परेका छन् ।
नेपाली कांग्रेसमा लामो समयका कार्यकर्ता रहेका महरलाई पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा जिल्ला समितिले निष्कासन गरेको हो । आरोपअनुसार उनले चुनावमा कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीविरुद्ध गतिविधि गरेका थिए ।
कारबाहीको खबर आफूले मिडियामार्फत मात्र थाहा पाएको तर आधिकारिक पत्र अझै नपुगेको भन्दै उनले भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘चुनाव निर्मम हुँदो रहेछ, धेरै ठूलो नैतिक सङ्कट पनि आउँदो रहेछ।म त्यो भाग्यमानी बुबा हु, जसको छोराले चुनावमा विजय प्राप्त गर्दै गर्दा छोराको जितका लागि बुबाले भूमिका खेल्यो भनेर कारबाहीको डण्डा खेपेको छु ।’
महरले ‘पुत्रमोह’को प्रसङ्ग उठाउँदै इतिहासका उदाहरणसमेत दिएका छन् । उनले मुगल सम्राट बाबर र अयोध्याका राजा राजा दशरथको प्रसङ्ग उल्लेख गर्दै संकटमा परेको बेला पिता सधैँ संरक्षक बन्ने बताए । आफूमाथि कारबाही गर्ने साथीहरूलाई सम्बोधन गर्दै उनले यस्तो नैतिक सङ्कट कसैलाई नपरोस् भन्ने कामना गरेका छन् । ‘म जस्तो नैतिक संकटमा परेको मान्छेलाई कारबाही गरेर फेरि तपाईँहरू नै लज्जित हुनुहुन्छ होला,’ उनले लेखेका छन् ।
महरले आफूले कांग्रेसका लागि दिएको योगदान स्मरण गराउँदै समानुपातिक मतमा आफ्नो पनि हिस्सा रहेको बताएका छन् । उनले कांग्रेसका उम्मेदवार स्नेहीलाई पनि सम्बोधन गर्दै छोराविरुद्ध भोट माग्न आफ्नो नैतिकताले नदिएको उल्लेख गरेका छन्।
‘प्रिय भाइ प्रकाश स्नेहीलाई धेरै माया छ । के गर्नु भाइ मान्छे छोराकै लागि जेल जान्छन् ,नेल खान्छन् भ्रष्टाचार गर्छन् भने मैले त भोट मात्र पनि नमाग्न मेरो नैतिकताले मानेन । प्लिज मलाइ माफ गरी देऊ ,’ उनले सन्देशमा लेखेका छन् ।
व्यङ्ग्यात्मक शैलीमा उनले थपेका छन्, ‘भिसा जुन देशको भए पनि जान तयार छु, तर भर्सक देश निकाला नगरी दिनु ।’
अन्त्यमा उनले आफूलाई कारबाही गर्ने पार्टी पङ्क्तिलाई धन्यवाद दिँदै उक्त निर्णयको कुनै अर्थ नभएको र आफू जीवनभर कांग्रेसकै कार्यकर्ता रहने बताएका छन् ।
महर २०३५ सालदेखि नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता रहँदै आएका थिए । उनी तत्कालीन सुवेडा गाविसका अध्यक्षसमेत बनेका थिए भने कांग्रेस निकट किसान संघका पूर्व जिल्ला अध्यक्ष पनि हुन् ।











