काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि लगायतका पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन् ।
सभापति थापाले आज पर्न गएको महाशिवरात्रि पर्वको अवसरमा शुभकामना सन्दै जारी गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरूले हाम्रो मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न राष्ट्र भएको र महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा एकताको भाव सुदृढ पार्दै सबै नेपालीबिच आपसी सम्मान, सहकार्य र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउन मद्दत गरेको उल्लेख उनले गरेका छन् ।
साथै महाशिवरात्रिको अवसरमा उनले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै भगवान् शिवको कृपाले सबैमा सकारात्मक ऊर्जा, साहस र सत्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान होस् भन्ने कामना गरेका छन् ।












