निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रपति पौडेलले शान्ति सुरक्षाका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थामा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले भने, “लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचन हो। त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्नु हुँदैन।”

बैठकमा उपस्थित थिए गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की।

राष्ट्रपति पौडेलको यो निर्देशनले आगामी निर्वाचनलाई सुरक्षित, व्यवस्थित र लोकतान्त्रिक बनाउने सरकारको प्रतिबद्धता झल्काएको विश्लेषकहरूले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्