पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छ : महामन्त्री गगन थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गरेरै छाड्ने दाबी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन तोकिएकै समयभित्र हुने स्पष्ट गर्नुभयो।

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिको औपचारिक निर्णयबाट हुने कि नहुने भन्ने विषय भने एक–दुई दिनभित्र टुंगो लाग्ने उहाँले बताउनुभयो।
“पुस मसान्तभित्र महाधिवेशन हुन्छ। केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि नगरी हुन्छ, त्यो एक–दुई दिनभित्र स्पष्ट हुन्छ,” महामन्त्री थापाले भन्नुभयो।

महामन्त्री थापाले पार्टी विधान केन्द्रीय कार्यसमितिभन्दा माथि रहेको उल्लेख गर्दै विधानको कार्यान्वयन गर्नु केन्द्रीय कार्यसमितिको दायित्व भएको बताउनुभयो। केन्द्रीय कार्यसमितिले आफ्नो जिम्मेवारी पूरा नगरेमा केन्द्रीय कार्यालयको नेतृत्व गर्ने हैसियतले महामन्त्रीले नै पहल गर्ने उहाँको भनाइ थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्