अष्ट्रेलिया १५ मंसिर । नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्सटन र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले १९ जना नेपाली बिद्यार्थीहरुलाई अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान गरेका छन् ।
अस्ट्रेलियाली सरकारको प्रतिष्ठित अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्राप्त गरेका यी बिद्यार्थीहरुले सन् २०२६ मा अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्नेछन्।
छात्रवृत्तिमा अध्ययन गर्न अष्ट्रेलिया जाने १९ जना नयाँ बिद्यार्थीहरुमध्ये १३ जना सार्वजनिक सेवा क्षेत्रका, ११ जना महिला र २ जना अपांगता भएका व्यक्ति रहेका छन्।
छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै शिक्षा सचिव पौडेलले अस्ट्रेलिया अवार्ड्स प्राप्तकर्ताहरूलाई बधाई दिए । नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेकोमा अस्ट्रेलियाली सरकारलाई धन्यवाद दिएका छन् ।
“तपाईहरुले अष्ट्रेलियामा प्राप्त गर्ने ज्ञान, र बनाउने विश्वब्यापि सम्पर्क र संजालले तपाईहरुको ब्यवसायिक जीवनलाई आकार त दिने नै छ यसका साथै त्यसले तपाईहरुलाई सार्थक ढंगले नेपालको सेवा गर्ने क्षमता पनि दिनेछ । नेपाल सरकार देशको प्रगतिमा मानविय पूँजिले खेल्ने महत्पूर्ण भूमिकाको कदर गर्दछ र अष्ट्रेलिया अवार्ड्स्ले थप सम्बृद्द, समभाव र नवप्रवर्तन युक्त बिकासप्रति साझा दृष्टिकोँण राखेकोमा गर्व गर्दछु,” सचिव पौडेलले भने।
राजदूत जोन्स्टनले बिद्यार्थीहरुलाई आफ्नो अवसरको अधिकतम उपयोग गर्न, बहुसांस्कृतिक अस्ट्रेलियाको विविधता र समृद्धि अनुभव गर्न, र अस्ट्रेलियाली जनता तथा संस्थाहरुसँग बलियो सम्बन्ध निर्माण गर्न तत्पर रहेको बताए ।
“अस्ट्रेलिया अवार्ड्स कार्यक्रमले हाम्रा दुई देशहरु बिचको सबल सहकार्य र समावेशीकरण, शिक्षा तथा नेतृत्वप्रतिको हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्बित गर्छ । हामी यस बर्षको छनौटमा पर्नुभएका बिद्यार्थीहरुको विविधता र यसले प्रतिनिधीत्व गर्ने दृष्टिकोण प्रति गर्व गर्छौं,” राजदूत जोन्सटनले भने।
अस्ट्रेलियाली सरकारको परराष्ट्र मन्त्रालय द्वारा प्रदान गरिने अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति एक परिवर्तनकारी उच्च शिक्षा हासिल गर्ने अवसर हो। यसले आफ्ना क्षेत्रमा नेतृत्व गर्ने क्षमता भएका बिद्यार्थीहरुलाई अध्ययन र अनुसन्धानका अवसर प्रदान गर्छ जसबाट उनीहरूले सीप, ज्ञान र सम्बन्धहरु विकास गरी आफ्नो देशमा परिवर्तन ल्याउन र विकासमा योगदान पुर्याउन सक्छन्। धेरै अस्ट्रेलिया अवार्ड्स प्राप्त पूर्वविद्यार्थीहरू नेपाल फर्किएपछि सरकारी सेवा, नागरिक समाज र व्यवसायिक क्षेत्रमा वरिष्ठ पदमा पुगेर योगदान गरिरहेका छन्।
विदेशी बिद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्नु सन् १९५० को कोलम्बो प्लान देखि नै अस्ट्रेलिया सरकारको विदेश नीतिको मुख्य विशेषता रहँदै आएको छ। त्यसयता, विश्वभरका १ लाखभन्दा बढी व्यक्तिहरूले अस्ट्रेलियाली सरकारको छात्रवृत्ति प्राप्त गरी अस्ट्रेलिया वा प्रशान्त क्षेत्रमा अध्ययन गरेका छन्। १,३०० भन्दा बढी नेपालीले अस्ट्रेलिया अवार्ड्सको सहयोगमा अस्ट्रेलियामा अध्ययन तथा अनुसन्धान गरेका छन्।
उक्त अवार्ड्स छात्रवृत्तिको अर्को चरणको आवेदन सन् २०२६ फेब्रुअरीमा खुल्नेछ।











