काठमाडौँ। नेकपा (एमाले)ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक प्रतीक चिन्ह(लोगो) सार्वजनिक गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको लोगोमा धरहरा, राष्ट्रिय झण्डा र सूर्य प्रतिकभित्र रहेको हँसिया–हथौडा समावेश गरिएको छ। पार्टी सचिव पद्मा अर्यालका अनुसार लोगोले एमालेको इतिहास, नेतृत्व, सङ्कल्प तथा परिवर्तनप्रतिको उत्साहलाई प्रतिनिधित्व गर्दछ।
‘निर्णायक राष्ट्रिय शक्ति : हाम्रो सङ्कल्प—समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय गन्तव्य’ —समेत सार्वजनिक गरिएको छ।
सोही अवसरमा एमाले प्रचार विभागले महाधिवेशनलाई लक्षित गर्दै ‘सूर्य खबर’ नामक विशेष सूचना प्रकाशन आइतबार साँझबाट सुरु गर्ने घोषणा गरेको छ।
पार्टीले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन प्रक्रिया शनिबारै सम्पन्न गरिसकेको छ र तयारीलाई तीव्र बनाएको जनाएको छ। मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह हुनेछ भने बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।











