क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् ।

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी प्रभावकारी रुपमा अगाडि बढाइने मन्त्री घिसिङले उल्लेख गरे । कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले विद्युतीय सवारी साधन (सार्वजनिक यातायात), चार्जिङ स्टेसनजस्ता इ—मोबिलिटीका क्षेत्रमा लगानी गर्न सुझाव दिए।

नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गर्ने कोषका लागि फोहोरबाट ऊर्जा उत्पादन गरिने परियोजना लगानीको क्षेत्र हुनसक्ने भन्दै घिसिङले ऊर्जा पनि उत्पादन हुने र फोहोरमैला व्यवस्थापन गर्न सकिने त्यस्ता परियोजनामा लगानीको सम्भाव्यता अध्ययन गर्न सुझाव दिए । उनले लगानी गर्नुपर्ने तथा कोषले लगानी गर्ने क्षेत्राधिकारलाई अझ धेरै विस्तार गर्नको लागि आवश्यक कानूनी व्यवस्थालाई परिमार्जन समेत गरिने बताए।

हरित जलवायु कोष (ग्रिन क्लाइमेट फन्ड) बाट मान्यता (एक्रेडिटेशन) प्राप्त हुने क्रममा रहेको र मान्यता पाएपछि कोषलाई हरित उर्जा सम्बन्धी परियोजनामा लगानीको लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने आशा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्