काठमाडौँ, १ कात्तिक । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।
दिउँसो १ः२३ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
काग तिहार भने आइतबार परेको उहाँले बताउनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवम् यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ । रासस











