काठमाडौं, असोज ५ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता प्रक्रिया खुलाउन गृह मन्त्राललाई प्रस्ताव गरेको छ ।
आयोगले निर्वाचन आयोगले तोकेको दिनसम्म मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गर्नेगरी अध्यादेश ल्याउन आइतबार गृह मन्त्रालयमा प्रस्ताव पेश गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ पछि उपदफा २ क थप गर्दै निर्वाचन आयोगले तोकेको दिनसम्म मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गर्न पत्राचार गरेको छ । ऐनको दफा ४ को उपदफा २ मा निर्वाचनको मिति घोषणा भइसकेकोपछि उक्त निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था छ ।
आयोगले प्रस्ताव गरेको उपदफा २ क मा संविधानको धारा ८५ को उपधारा १ तथा धारा १७७ को उपधारा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा विघटन भएको विषम परिस्थितिमा मतदाता नामावली दर्ता कार्य फुकुवा गनुपर्ने भन्दै अध्यादेशमार्फत ऐनलाई संशोधन गर्न प्रस्ताव गरेको हो ।
मन्त्रालयमा प्रस्ताव अघि बढेसँगै अब गृह मन्त्रालयले त्यसमा आवश्यक छलफल गरेर निर्णय गरेपछि मन्त्रिपरिषद्मा प्रस्ताव लगेर ऐनलाई अध्यादेशको रुपमा पारित गरिनेछ । उक्त अध्यादेश पारित भएपछि उक्त अध्यादेश कार्यान्वयन प्रक्रियामा अघि बढ्नेछ ।
निर्वाचन आयोगले अहिले मतदाता नामावली प्रक्रिया खुलाउनेगरी मात्रै अध्यादेश संशोधन गर्न प्रस्ताव गरेको भए पनि गृह मन्त्रालयले निर्वाचनसँग सम्बन्धित अन्य विभिन्न कानून पनि संशोधन गर्न सक्ने अनुमान गरिएको छ । गृह एवम कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले गत शुक्रबार निर्वाचन आयोगमा पुगेर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।











