काठमाडौं । अछामको बारलामा एक दर्दनाक घटना घटेको छ, जसले छाउपडी प्रथाको क्रूर वास्तविकता फेरि एकपटक उजागर गरेको छ। महिनावारी भएकाले घरभन्दा टाढा खेतको छेउमा त्रिपाल टाँगेर सुतिरहेका महिलामाथि पहिरोबाट ढुंगा खस्दा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
घटना शुक्रबार बिहान करिब ३ बजे भएको हो। मृतकमध्ये एक ३५ वर्षीया निम खनाल, अर्की ८ वर्षीया कविता भण्डारी हुन्। कविता आफ्नी आमा ३६ वर्षीया रत्ना भण्डारीसँग सुत्न गएकी थिइन्। ढुंगा लागेर रत्ना गम्भीर घाइते भएकी छन्। हाल उनको उपचार बारलास्थित स्वास्थ्य चौकीमा भइरहेको छ।
वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार, तीनै जना महिलाहरूले महिनावारीको कारण गोठ नहुँदा त्रिपालमुनि रात काटिरहेका थिए। गोठहरू भत्काइएको भए पनि महिलाहरूलाई अझै घरमा बस्न नदिइने परम्परा कायमै छ। कोही त्रिपाल टाँग्छन्, कोही डोको भित्र, कोही सौचालयमै बस्छन्, शाहीले भने, तर यस्तो अमानवीय अभ्यासले अहिले निर्दोष ज्यान लिएको छ।
उनका अनुसार, निम र रत्ना दुबैलाई महिनावारी भएको छैटौं दिन थियो, तर सामाजिक डरका कारण उनीहरू अझै अछुतो बनाएर बाहिर सुत्न बाध्य थिए। कविता भने बालिका भए पनि आमासँगै गएकी थिइन्।
सरकारले छाउपडी प्रथा विरुद्ध कानूनी प्रावधान बनाएर गोठ भत्काउने अभियान चलाए पनि व्यावहारिक सुधार खासै देखिएको छैन। स्थानीय तहदेखि संघीय सरकारसम्मको प्रयास कानुनी रूपमा सक्रिय भए पनि समाजको चेतना अझै पिछडिएको छ।
प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मृतक कविता र उनकी आमाको स्थायी ठेगाना मगलसेन नगरपालिका–६ रहेको र केही महिनाअघि मात्रै ससुराली गाउँ बारला गएका थिए।











