काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताका बिषयलाई कांग्रेसले सदैव प्राथमिकतामा राखेको बताउनुभएको छ ।
कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक संवेदनशीलता सामाजिक रूपान्तरणको महत्वपूर्ण बिषय भएकाले यसलाई पार्टीले समेत प्राथमिकतामा राखेको बताउनुभएको हो ।
लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।
उहाले मुलुकको परिवर्तनपछि बनेको संविधानमा समेत महिलाहरुको समान अधिकारलाई बिशेष व्यवस्था गरेकै कारण मुलुकको उच्च तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले लैङ्गिक समानता महिलाको मात्रै नभइ समग्र सामाजिक रुपमा पछाडि पारिएका समुदायहरुको मुद्दा रहेकाले लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।












