इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।उनले सम्बोधनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद समेत दिएका छन्।
ट्रम्पले सम्बोधनका क्रममा धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । उनले भने, ‘अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठुला र सजिलो हुनेछन्।’
इरानको आणविक स्थलहरूको बारेमा कुरा गर्दै ट्रम्पले भने, ‘मानिसहरूले वर्षौँदेखि यी ठाउँहरूको नाम सुन्दै आएका थिए किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना तयार भइरहेको थियो। म संसारलाई भन्न चाहन्छु कि आज रातिका आक्रमणहरू पूर्ण रूपमा सफल भएका छन्।’
ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘या त अब शान्ति हुनेछ, नत्र इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठुलो त्रासदीको सामना गर्नेछ।’
‘राष्ट्रपति ट्रम्प र म प्रायः भन्छौँ, शक्ति मार्फत शान्ति। पहिले शक्ति आउँछ र त्यसपछि शान्ति आउँछ।’
यसअघि, ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरिसकेको जानकारी दिएका थिए। यी आक्रमणहरू फोर्डो, नातान्ज र इस्फहानमा लक्षित थिए। इरानले पनि यी आक्रमणहरूको पुष्टि गरेको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘हामीले फोर्डो, नातान्ज र इस्फहानका तीन इरानी आणविक स्थलहरूमा सफलतापूर्वक आक्रमण गरेका छौँ। सबै विमानहरू अब इरानी हवाई क्षेत्रबाट बाहिर छन्। सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन्।’











