काठमाण्डौ – अमेरिका का पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी ‘रक्तपात’ अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गर्ने घोषणा गरेका छन्।
ट्रम्पले आगामी सोमबार पुटिनसँग कुराकानी गर्दै युद्धविरामको पहल गर्ने बताएका हुन्।यो घोषणा रुस र युक्रेनबीच इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्तापछि आएको हो, जहाँ दुबै पक्ष एक–एक हजार युद्धबन्दीको आदानप्रदानमा सहमत भएका थिए।
शनिबार युक्रेनको सुमी क्षेत्रमा रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको छ। राष्ट्रपति जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसविरुद्ध थप कडा प्रतिबन्धको माग गरेका छन्।
क्रेमलिनले भने युद्धविरामका लागि दुबै पक्षले स्पष्ट प्रस्ताव राख्नुपर्ने र वार्ता क्रमशः अघि बढ्ने बताएको छ। ट्रम्पले पुटिनसँग प्रत्यक्ष संवादबिना समस्या समाधान नहुने तर्क गर्दै जेलेन्स्की र नाटो नेताहरूसँग पनि छलफल गर्ने जनाएका छन्।
युद्धविरामको आशामा भएको हालको कूटनीतिक प्रयासलाई ‘वास्तविक प्रगति’ मानिएको छ। तर, क्षेत्रीय विवाद र रुसका कठोर सर्तहरूले वार्तालाई जटिल बनाइरहेको छ।











