काठमाडौं, फागुन ३ । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो । अर्थमन्त्री पौडेलका साथै पोखरा महानगर प्रमुख आचार्यको उपचार भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो । घाइतेको अवस्था बुझ्दै उहाले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै पौडेल र आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चिकित्सकहरुले जाँच गरेको र खतरमुक्त रहेको जानकारी दिएको बताउनुभयो । अर्थमन्त्रीको हात र मुहारमा केहि जलन देखिएको उहाले बताउनुभयो ।
घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भीक उपचार गरिएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।









