मकवानपुर, ४ माघ । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ।
आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको उनले बताए।
यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उनले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए।
यस उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।
उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ। उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक सङ्कट आइपरेको कर्णले बताए।
उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको जानकारी दिए।
विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिक रूपमा उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा बिक्री वितरण भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ।
अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी एक सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। विभिन्न मेसिन तथा उपकरणलाई मर्मतसम्भार गरी नयाँ प्रकृतिबाट सञ्चालनमा ल्याएमात्रै हेटौँडा सिमेन्ट उद्योगलाई आर्थिक सङ्कटमुक्त बनाउन सकिने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए।









