
काठमाडौं, १४ असोज
राष्ट्र बैँकले तरलता व्यवस्थापनका लागि रिपोमार्फत् ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
लामो समयदेखि तरलताको अवस्था सुधार हुन नसकेपछि अल्पकालिन रूपमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैँकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।
खासगरी दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको बैङ्कका प्रवक्ता गुणकर भट्टले बताउनुभयो ।
त्यसका लागि राष्ट्र बैँकले आज दिउँसो बोलकबोलका लागि बैँक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । बोलकबोलमा वाणिज्य बैँक, विकास बैँक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।
उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ । राष्ट्र बैँकले, बैँक तथा वित्तीय संस्थाहरूलाई ग्राहकहरूको जमिन कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रयोगमा ल्याउन आज एक सूचना जारी गर्दै निर्देशन दिएको हो ।