लोकतन्त्रको विकल्प कांग्रेसले सोच्दैन : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको विकल्पमा कांग्रेसले कहिल्यै नसोच्ने बताएका छन्।
काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले कांग्रेस लोकतन्त्रको पहरेदारका रूपमा सधैँ उभिने बताएका हुन्। उनले एकपटक चुनाव हार्दैमा कांग्रेस निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे।
पौडेलले कांग्रेसको नेतृत्व देशका लागि परिपक्व नेतृत्व भएको दाबी गर्दै नागरिकको चाहनाअनुसार पार्टीलाई सुधार र परिमार्जन गर्दै लगिएको बताए। उनले गगन थापा अहिले कांग्रेसको आवश्यकता रहेको र आगामी दिनमा देशकै आवश्यकता बन्ने दाबी पनि गरे।
उनले १५औँ महाधिवेशनपछि कांग्रेसलाई थप व्यवस्थित र परिष्कृत बनाएर अघि बढाउने बताए। साथै, महाधिवेशनको प्रक्रियाबाट बाहिर रहेका पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पनि प्रक्रियामा सहभागी हुन आग्रह गरे।
पौडेलले देउवालाई कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्न आफूहरू इच्छुक रहेको बताए। कसैलाई सम्मान नगर्ने वा कसैलाई ठेस पुर्याउने कांग्रेसको मनसाय नरहेको उनको भनाइ छ।








