काठमाडौं, १४ साउन । नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रदर्शनरत् छ । यद्यपि यसको दर्शक बढिरहेका छन् ।
दर्शककै ’वर्ड अफ माउथ’को कारण तेस्रो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । तेस्रो सातामा प्राप्त चलचित्रको अधिकांस सो हाउसफुल भएको छ । शनिवार निर्माण टिमले काठमाडौँस्थित एफक्युब र क्युएफएक्स सिभिल मलमा पुगेर दर्शकसँग साक्षात्कार गरे ।
सिभिल मलमा रहेको हलमा एक दर्शक अभिनेत्री करिश्मा मानन्धरलाई देख्नेवितिकै भक्कानिइन् । उनले चलचित्रमा आफ्नै कथा भेटेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘यो हाम्रो कथामा बनेको चलचित्र हो । यसले हाम्रो बारेमा समाजलाई जानकारी गराएको छ । हामीले परिवार र समाजबाट चाहने साथलाई चलचित्रले व्यक्त गरेको छ ।’
यस्तै, एफएक्युबमा भेटिएकी एक दर्शकले आफ्नो छोरीले चलचित्रमा झैँ दोस्रो विवाह गर्ने भए आफू तयार रहेको प्रतिक्रिया दिएको बताएकी थिइन् ।दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्रायः दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् ।
हलमा दर्शकसँग प्रतिक्रिया लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेत्री करिश्माले चलचित्रले दर्शक तान्न सफल भएको बताइन् । उनले भनिन्, ‘वर्ड अफ माउथकै कारण दर्शकको भिडभाड हलमा घटेको छैन । हामीले देखाउन खोजेको कथाले समाजलाई दिईरहेको संदेशले हामी सफल भएका छौं ।’











