काठमाडौं, ३ असार । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ‘लोक संगीत हिजो र आज’ विषयक संगोष्ठी सम्पन्न भएको छ ।
गत बुधबारबाट लोक संगीत विभागको आयोजनामा सुरु भएको लोक संगीत गोष्ठी बिहीबार सम्पन्न भएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको अध्यक्षता तथा वरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा ‘लोक संगीत हिजो र आज’ विषयक सम्पन्न भएको कार्यक्रम संयोजक तथा लोक संगीत विभागकी प्रमुख टीका पुनले जानकारी दिइन् ।
उक्त कार्यक्रममा डा. गाविन्द आचार्यले लोक संगीत हिजो र आज विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा प्राज्ञ यज्ञराज उपाध्याय र किरणबाबु पुनले टिप्पणी गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै आचार्यले लोक संगीतको परिभाषा तथा यसको उत्पत्तिको विषयमा प्रकाश पार्दै लोक संगीतका बारेमा जानकारी गराएका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्राज्ञ उपाध्यायले लोक संगीत सबैको साझा सम्पत्ति भए पनि संकलन कर्ताले गाउँघरमा रुमल्लिरहेको गीतलाई वान्की थपेर लोक गीत बनाउँछ भने त्यसमा संकलनकर्ताको अधिकार स्थापित हुनुपर्ने बताए ।

त्यस्तै किरण बाबु पुनले टिप्पणी गर्ने क्रममा छालाले मोडेका बाजा मात्र ताल बाजा नभएको र सारंगी, झ्यालीलगायतका बाजालाई समेत ताल बाजाका रुपमा प्रयोग गर्न सकिने बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रेमराजा महतले नेपालका मौलिक चिजहरुलाई खोजी गरेर संरक्षण गर्नुपर्ने जोड दिँदै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो उद्देश्य पुरा गर्न आफूलाई भौतिक तथा प्राज्ञिक रुपमा सबलिकरण गर्नुपर्ने बताए ।
सो कार्यक्रममा बोल्दै उपकुलपति शम्भु राईले अहिले बजारमा आएका मीठा र रसिला गीतलाई आफूले लोक गीतका रुपमा नलिएको भन्दै लोक गीत भनेका शतिऔँदेखि पुस्तान्तरण हुँदै आएको बताए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, संगीतकार बिबि अनुरागी, लोकगायक राजु परियार, सञ्चारकर्मी कृष्ण कँडेलले लोक संगीतका विषयमा बोलेका थिए ।











