इजरायल लैजाने प्रक्रिया पुनः सुचारु, थप ८० नेपाली पुगे

खबर बुक
  • ख-
  • ख+

दोहा – रोजगारीका लागि ८० नेपाली इजरायल पुगेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरूलाई इजरायल ल्याउने प्रक्रिया पुनः सुचारु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि इजरायल आउन नपाएका बाँकी नेपालीहरूलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात् इजरायल लिन सुरु गरिएको जनाइएको छ ।

जस अन्तर्गत ८० जना नेपालीहरू इजरायल पुगेको दूतावासले जनाएको छ । उनीहरूलाई दूतावासबाट इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, उपनियोग प्रमुख अर्जुन घिमिरे र इजरायल-नेपाल मैत्री संस्थाका प्रमुख नादभ बेन एहुदा लगायतको टोलीले इजरायलको बेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसअघि विभिन्न चरणमा गरी २९७ जना इजरायल पुगिसकेका छन्। वैदेशिक रोजगार विभागले गत वर्ष कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्