भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगायो

खबर बुक
  • ख-
  • ख+

भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालको भान्छा थप महङ्गो हुने देखिएको छ ।

चिनी र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारत सरकारले आन्तरिक खाद्य सुरक्षालाई ध्यानमा राखेर चामल निर्यातमा पनि कर लगाएको बताएको छ । यसले गर्दा अब नेपालमा चामलको मूल्य बढ्ने देखिएको छ । नेपालमा बार्षिक रूपमा करिब ३२ लाख मेट्रिक टन चामलको माग रहेको छ । तर, आन्तरिक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मेट्रिक टन चामल अपुग हुँदै आएको छ ।

जसको परि पुर्तिका लागि भारतबाट मात्रै बार्षिक ५ अर्ब भन्दा बढिको चामल आयात हुने गरेको छ । नेपालले गत आर्थिक वर्षमा मात्रै भारतबाट ५ अर्ब ७ करोड ३५ लाख ३४ हजार रूपैयाँ बराबरको ६७ हजार ८ सय ४ मेट्रिक टन चामल आयात गरेको थियो । चालु आर्थिक बर्षको साउनमा मात्रै भारतबाट नेपालले २७ करोड ९४ लाख १७ हजार रुपैँया बराबरको ३ हजार ६ सय ३७ मेट्रिक टन चामल आयात गरेको छ ।

यसमा २० प्रतिशत कर जोडिनासाथ नेपालमा चामलको मुल्य बढ्ने छ । चामलको लागि बाह्य बजारको भर पर्नु भन्दा अब आन्तरिक उत्पादनलाई बढाउनुको विकल्प नरहेको विज्ञहरू बताउँछन् ।

अर्थ विज्ञ डाक्टर चन्द्रमणी अधिकारीले अब खाद्यान्नको आन्तरिक उत्पादन बढाउन सरकारले जोड दिनुपर्ने बताउनुभयो । पुर्व कृषिमन्त्री हरीबोल गजुरेल भने नेपालमा खाद्य उत्पादन बढाउन सबैको सक्रियता आवश्यक रहने बताउनुहुन्छ ।

उहाँले सबैको साझा प्रयास र सक्रियतामा नेपालमा कृषि उत्पादन बढाइ यसबाट खाद्यान्नमा आत्मनिर्भर हुन सकिने बताउनुभयो ।

नेपालमा भारतसँगै चीन, जापान, कोरिया, थाइलाण्ड, इन्डोनेसिया, भुटान, भियतनाम र इटाली लगायत १० देशहरूबाट चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्ला वर्ष धान, चामल, कनिका लगायतको आयात निरन्तर बढिरहेको छ ।

पाँच वर्षअघि करिब ५ लाख ४० हजार मेट्रिकटन चामल आयात भएकोमा गत वर्ष ८ लाख ९० हजार मेट्रिकटन पुगेको छ । यसपाली त्योभन्दा धेरै धान र चामल आयात हुन सक्ने सरकारी आँकलन छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्