भक्तपुरमा यसरी मनाइन्छ आठ दिने इन्द्रजात्रा

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, २३ भदाै । टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको इन्द्रजात्रा सुरु हुन्छ । यहाँ जात्रा एक हप्तासम्म चल्छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिंगोहरू ठडाइन्छन् । स्थानीयवासी यसलाई यम्बद्यः(इन्द्र देवता) उठाइएको भन्छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्य (ईन्द्र देवता) उठाइन्छ ।

दोस्रो दिन (भाद्रशुक्ल त्रयोदशी)
यस दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने चलन छ ।

तेस्रो दिन (भाद्रशुक्ल चतुर्दशी)
यो दिन साझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसंग जात्रा गरी सिद्धपोखरीमा लाने चलन छ ।

चौथो दिन (भाद्रशुक्ल पूर्णिमा)
यस दिन भक्तपुरका बासिन्दाहरू ’इन्द्र दहस्नान’ गर्न विहानैदेखि सिद्धपोखरीमा जान्छन् र समय् (भोज) चढाएर, खाएर ययापुन्ही मान्छन् । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमा नगराई बाजागाजासहित आधा देश परिक्रमा गराई देवगृह भियाइन्छ ।

पाचौ दिन (आश्विनकृष्ण प्रतिपदा) 
नित्य पुजा र आरती, आगामी दिनको तयारी मात्रै गरिन्छ यो दिन ।

छैठौँ दिन (आश्विनकृष्ण द्वितीया) 
सला गणेश, यामता, मुपात्र जात्रा हुन्छ यो दिन । इन्द्रजात्रा उत्सवको यो दिन पनि विशेष महत्वको छ । यस दिनको मुख्य जात्रा यामता, सला गणेश अनि मुपात्र जात्रा हुन् । ‘यामता’ इन्द्रबत्ती हो । जात्राको शुभारम्भ हुने स्थान तचपाल टोल हो । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्न ठूलो भीड लाग्छ । साकुलान टोलका मानन्धरहरूले बासले बनेको त्रिशुल आकारको यामतालाई आगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्छन् ।

सातौँ दिन (आश्विन कृष्ण तृतीया) 
यस दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूको एउटा यामतासहित देश परिक्रमा गरी जात्रा चलाइन्छ । मूपात्र पनि आङ्खना दुई जना धिचाहरू लिएर अघिल्लो दिनमा जस्तै नगर परिक्रमा गर्दै सामुन्नेमा परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा गरी जान्छन् ।

आठौँ दिन (आश्विनकृष्ण चतुर्थी)
भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा यस दिनको आकर्षण हुन् । इन्द्रजात्राको समापन दिन धूमधामसित मनाइन्छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ । सो जात्रामा तेखाचोका मानन्धरहरूले दुई वटा यामता ल्याउँछन् । बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बाल्छन् ।

अनि भैरवनाथको जात्रामा सरीक हुन पुग्छन् । सोही क्रममा भैरवनाथको मन्दिरको भित्तामा झुण्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाइन्छ, ठाउँ–ठाउँमा छ्वाली बाल्दै निलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि चलाइन्छ । अनि भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा पनि चल्छ ।

किंवदन्ती
गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तितो अमिलो फल ) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरे । उनले फलफूल चोरेको यहाँका जनताले थाहा पाएपछि उनलाई पक्री चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखे । (इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् ।) छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि तिनी डाकिनीको भेषधारण गरी पृथ्वी आइन् । अनि तिनीले शित र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा भगाएर लगिन् । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकी थिइन् । पुलुकिसी त्यही हात्ती हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्