वर्षाले एनपीएलका दुवै खेल प्रभावित, टिकटको रकम फिर्ता वा अर्को खेल हेर्न पाउने व्यवस्था गर्ने विषयमा छलफल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजका लागि निर्धारित दुवै खेल प्रभावित भएका छन्। खेल वर्षाका कारण हुन नसकेपछि टिकट काटेका दर्शकले रकम फिर्ता पाउने वा अर्को दिनको खेल हेर्न पाउने भन्ने विषयमा चासो बढेको छ।

आज पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका थियो।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काले खेल हुन नसकेको अवस्थामा टिकट व्यवस्थापनबारे छलफल भइरहेको बताएका छन्।

नेपाल प्रेससँग कुरा गर्दै उनले लगातारको वर्षाका कारण मैदान हिलाम्मे बनेको उल्लेख गर्दै साँझको खेल हुन सक्ने आशा व्यक्त गरेका छन्। दुवै खेल हुन नसके त्यसबारे आवश्यक निर्णय लिइने उनको भनाइ छ।

खड्काका अनुसार टिकट काटेका दर्शकलाई अर्को दिन आफू अनुकूलको खेल हेर्न पाउने व्यवस्था मिलाउने वा टिकटको रकम फिर्ता गर्ने विकल्पबारे छलफल भइरहेको छ।

उनले अन्तर्राष्ट्रिय अभ्यासमा खेल हुन नसके पनि टिकटको रकम फिर्ता गर्ने चलन नरहेको उल्लेख गर्दै विशेष परिस्थितिमा दर्शकलाई राहत दिने विकल्प अपनाउन सकिने धारणा राखेका छन्।

त्यस्तै, खेल हुन नसकेको अवस्थामा दुवै टोलीलाई एक–एक अंक बाँडिने पनि खड्काले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्