काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण तथा साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन्।
पत्रकार पक्राउ परेको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गरी सम्भावित क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन्।
उनले सञ्चारकर्मीको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङ नेपाल प्रहरीले सधैँ अपेक्षा गर्ने बताउँदै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुगोस् भन्ने विषयमा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको जनाएका छन्।
त्यसैगरी, विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँ दत्तचित्त भएर आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहने प्रहरी महानिरीक्षक कार्कीले बताएका छन्।










