काठमाडौं । श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ श्रमदाताको टोलीसहित नुवाकोटका बाढीपीडितको उद्धार तथा राहत वितरणमा सक्रिय भएका छन्।
साम्पाङको टोलीले बाढीपीडितका लागि होल्डिङ सेन्टरमा शौचालय निर्माण गर्नुका साथै अत्यावश्यक तथा आधारभूत राहत सामग्री वितरण गरिरहेको छ। सरकारको उद्धार तथा राहत कार्यप्रति असन्तुष्टि जनाउँदै आएका साम्पाङ दुई दिनअघि पार्टीका केही नेता तथा श्रमदाता लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।
उनको टोली सोमबार नुवाकोटको बेत्रावतीस्थित माथिल्लो केराबारी र तल्लो केराबारीमा सक्रिय रहेको छ। बेत्रावती बजारमा बाढी आएपछि यी क्षेत्रमा स्थानीयवासी प्रभावित भएका थिए।
साम्पाङसँगै नुवाकोट पुगेका श्रम–संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बान्तवा राईले प्रभावित क्षेत्रमा सरकारी तर्फबाट अपेक्षित राहत नपुगेको दाबी गरे।
‘हामीले दुई सय घरलाई राहत लिएर आएका थियौँ। १६० घरलाई बाँडिसक्यौँ, अब ४० घरलाई बाँड्न बाँकी छ,’ राईले भने, ‘यहाँ त कति बिजोग रहेछ भने बाढीपीडितहरूको होल्डिङ सेन्टर पनि रहेनछ। शौचालय पनि रहेनछ। हाम्रो पार्टी आएपछि सबै कुराको व्यवस्था हुँदै छ।’
उनका अनुसार राहत सामग्रीमा दाल, चामल, तेल, सोयाबिन, नुन, साबुन, भाँडाकुँडालगायत सामग्री छन्। केही लत्ताकपडासमेत वितरण गरिएको उनले बताए।
राईले आफूहरूले वास्तविक पीडितको पहिचान गरेपछि मात्रै राहत वितरण गरिरहेको दाबी गरे। उनका अनुसार साम्पाङको टोली एउटा हाइलक्स र एउटा ट्रकमा राहत सामग्री बोकेर नुवाकोट पुगेको हो।
उनले आफूहरू आउने जानकारी पाएपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति पनि बढेको दाबी गरे।
‘हामी आउने भएपछि नै यहाँ बगरमा सुन पनि भेटिएछ। एक जनाको जीवित उद्धार पनि भएछ,’ उनले भने, ‘हामी सरकार नपुगेको ठाउँमा पुग्ने सक्दो कोसिस गरिरहेका छौँ। यो हाम्रो अभियान नै हो।’
राहत वितरणसँगै टोलीले बाढीपीडितका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएर शौचालयसमेत निर्माण गरेको राईले बताए।
‘पीडितहरूलाई एक ठाउँमा जम्मा गर्यौँ। अध्यक्षज्यू आफैँले खाल्डो खनेर तीन वटा शौचालय बनाइदिनुभयो,’ उनले भने।
उनका अनुसार होल्डिङ सेन्टरमा मेडिकल टिमसमेत खटाइएको छ। टोलीले आगामी दिनमा बाढी प्रभावित रसुवाको धुन्चे जाने तयारी गरेको छ।
राईले राज्यले ढिलाइ गरे पीडितको पुनर्स्थापनाका लागि श्रम–संस्कृति पार्टी आफैँ अगाडि सर्ने बताए। उनका अनुसार राज्यले पीडितको पहिचान गरी छिटोभन्दा छिटो घर निर्माण गर्नुपर्ने वा त्यसका लागि पार्टीलाई जिम्मेवारी दिनुपर्नेछ।
‘राज्यले पीडितको पहिचान गरेर छिटोभन्दा छिटो घर बनाइदिनुपर्छ, नत्र श्रम संस्कृति पार्टीलाई बनाउन दिनुपर्छ,’ उनले भने।
राज्यले एकद्वार प्रणाली लागू गरेर १० दिनसम्म सबैलाई राहत तथा उद्धारमा जान रोकेको भए पनि अपेक्षित नतिजा आउन नसकेको उनको टिप्पणी छ।
‘सबैले १० दिनपछि किन गएको भन्छन्। राज्यले नजानू भनेपछि हामी कसरी आउने त ?’ उनले प्रश्न गरे।
राहत अभियानका लागि विदेशमा रहेका श्रम–संस्कृतिमा आबद्ध श्रमदाताहरूबाट सहयोग प्राप्त भएको राईले बताए। उनका अनुसार पार्टीले उद्धार कोषमा १५ लाख रुपैयाँसमेत जम्मा गरिसकेको छ।
‘अहिले १२६ देशमा हाम्रो संगठन बनिसकेको छ। प्रवासमा रहनुभएका श्रमदाताले सरकार पुग्न नसकेको ठाउँमा यो राहत दिनुहोस् भनेर पठाउनुभएको सहयोग नै अहिले बाढीपीडितकहाँ पुर्याइरहेका छौँ,’ उनले भने।










