काठमाडौंमा ग्यासको चरम अभाव, माग ४० हजार सिलिन्डर तर आपूर्ति २५ हजार मात्रै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ता घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था आएको छ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहे पनि आपूर्ति करिब २५ हजार सिलिन्डरमा सीमित भएको छ। माग र आपूर्तिबीचको असन्तुलनका कारण बजारमा ग्यासको अभाव चुलिएको हो।

भदौ १४ गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुंगा–मुग्लिन सडक अवरुद्ध छ। सडक अवरुद्ध भएपछि ग्याससँगै पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत प्रभावित भएको छ।

आपूर्तिमा ४० प्रतिशत गिरावट

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग भए पनि अहिले करिब १५ हजार सिलिन्डर कम आपूर्ति भइरहेको छ।

ग्यास बिक्रेता र होटल व्यवसायीहरूले समेत तराईका डिपोबाट ग्यास ल्याउने प्रयास गरिरहेका छन्। ठाकुरका अनुसार दैनिक १०० भन्दा बढी ग्यास बुलेट लोड भएर भन्सार पास भए पनि कृष्णभीरको पहिरोका कारण ती बुलेट काठमाडौँ आइपुग्न सकेका छैनन्।

‘दैनिक १०० भन्दा बढी ग्यास बुलेटहरू लोड भएर भन्सार पास भइरहेका छन्, तर कृष्णभीरको पहिरोले गर्दा ती बुलेटहरू काठमाडौँ आइपुग्न सकेका छैनन्,’ ठाकुरले भने, ‘अहिले ती बुलेट तराईका डिपोबाट सिलिन्डरमा भरेर काठमाडौँ ल्याउने कार्य भइरहेको छ।’

सामान्य अवस्थामा तराईका डिपोबाट २१ टनसम्म ग्यास बोक्ने ठूला बुलेट सिधै काठमाडौँका उद्योगसम्म पुग्ने गरेका थिए। तर, सडक अवरुद्ध भएपछि ती बुलेट बाटोमै रोकिएका छन्।

हाल देशभरका ५८ ग्यास उद्योगमध्ये १७–१८ वटा उद्योगले मात्रै ग्यास भरिरहेका छन्। तीमध्ये तराईका उद्योगको हिस्सा बढी छ। काठमाडौँका उद्योगमा पर्याप्त ग्यास पुग्न नसक्दा रिफिलिङ प्रक्रिया समेत सुस्त भएको छ।

उपभोक्तामाथि थप आर्थिक भार

ग्यास अभावकै बीच उद्योगीहरूले ढुवानी लागत समायोजन भन्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त शुल्क लिने निर्णय गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार उक्त शुल्क बिहीबारदेखि लागू भएको हो।

यससँगै काठमाडौँमा ग्यासको मूल्य साविकको २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ। केही डिपोले थप शुल्क समेत लिने गरेको उपभोक्ताको गुनासो छ।

संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार उपत्यकामा ग्यास आपूर्ति गर्ने २२ उद्योगमध्ये १८ वटामा बुलेट पुग्न नसकेपछि तराईका अन्य उद्योगमा ग्यास भरेर साना ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउनुपर्ने अवस्था छ।

५० किलोमिटरभन्दा बढी दूरीमा ढुवानी खर्च समायोजन गर्न पाउने नीतिगत व्यवस्थाअनुसार अतिरिक्त शुल्क लिइएको उद्योगीहरूको दाबी छ। वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १८० रुपैयाँ ८० पैसा अतिरिक्त लागत लाग्ने भए पनि उक्त रकम ढुवानीकर्ता, उद्योगी र उपभोक्ताबीच बाँडफाँट गरिएको संघले जनाएको छ।

घण्टौँ लाइन बस्दा पनि ग्यास पाइँदैन

आपूर्ति घटेसँगै काठमाडौँका प्रमुख ग्यास डिपोमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ। कलंकी, बालाजु तथा ललितपुरका विभिन्न क्षेत्रमा मध्यरातदेखि नै रित्तो सिलिन्डर बोकेर उपभोक्ता लाइनमा बस्ने गरेका छन्।

तर, दुई–तीन दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ। केही उपभोक्ता एकभन्दा बढी सिलिन्डर लिएर लाइनमा बस्दा एउटा मात्रै सिलिन्डर भएका उपभोक्ता थप समस्यामा परेको बताइएको छ।

कतिपय अवस्थामा लाइन बस्दाबस्दै ग्यास सकिने र तीन–चार दिनसम्म समेत ग्यास नपाउने अवस्था रहेको उपभोक्ताको गुनासो छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष चन्दले वितरणमा बेथिति रहेको स्वीकार गरेका छन्।

‘कतिपय डिलरहरूले आफ्नै कर्मचारीलाई उपभोक्ता बनाएर लाइनमा पठाउने र ग्यास होल्ड गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न परिचयपत्रका आधारमा ग्यास वितरण गर्ने योजना बनाइए पनि चौतर्फी विरोध र आलोचनाका कारण कार्यान्वयन हुन सकेन।’

सडक खुलेपछि पनि तत्काल सहज नहुने

धादिङको कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा तराईबाट ग्यास बोकेर आउने ठूला बुलेट आठ दिनदेखि बाटोमै रोकिएका छन्।

नेपाल आयल निगमका प्रवक्ता ठाकुरका अनुसार सडक खुल्नेबित्तिकै रोकिएका बुलेट काठमाडौँ भित्रिनेछन् र त्यसपछि आपूर्तिमा सुधार आउनेछ।

‘सडक विभागले पहिरो पन्छाउने काम गरिरहेको छ। बाटो पूर्ण रूपमा सञ्चालनमा आएको तीन–चार दिनभित्रै बजारमा ग्यासको उपलब्धता बढ्नेछ,’ ठाकुरले भने।

तर, सडक खुलेलगत्तै अभाव पूर्ण रूपमा हट्ने अवस्था भने नरहेको सरोकारवालाको भनाइ छ। रोकिएका बुलेट उद्योगसम्म पुग्ने, ग्यास रिफिल हुने र डिलरमार्फत उपभोक्ताको घरसम्म पुग्न समय लाग्ने भएकाले बजारमा सहज आपूर्ति हुन कम्तीमा एक साता लाग्न सक्ने देखिएको छ।

हाल काठमाडौँमा दैनिक ४० हजार सिलिन्डरको माग रहे पनि आपूर्ति २५ हजारमा सीमित छ। दैनिक १५ हजार सिलिन्डरको घाटा पूर्ति गर्न रोकिएका बुलेट काठमाडौँ आइपुग्नुपर्ने देखिन्छ।

ग्यास उद्योग संघका अध्यक्ष चन्दका अनुसार काठमाडौँका उद्योगमा पर्याप्त ग्यास पुगेर सबै उद्योग पूर्ण क्षमतामा सञ्चालन भएपछि मात्रै संकट पूर्ण रूपमा अन्त्य हुने अवस्था छ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास भइरहे पनि कृष्णभीरको सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म आपूर्ति सहज हुने सम्भावना न्यून देखिएको छ। सडक अवरोध लम्बिँदै गए ग्याससँगै अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा समेत थप समस्या आउन सक्ने देखिएको छ।

मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा कालोबजारी र असमान वितरणको जोखिमसमेत बढेको छ। यस्तो अवस्थामा सरकारले सडक सञ्चालनलाई प्राथमिकता दिनुका साथै ग्यासको वितरण र मूल्यमा प्रभावकारी अनुगमन गर्नुपर्ने देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्