५ फागुन, काठमाडौं ।चीनका राष्ट्रपति सी चिनफिङले अलिबाबाका सहसंस्थापक ज्याक मालगायत उद्यमीसँग भेट गरेका छन् । सोमबार राष्ट्रपति सी निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनिया सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
उनले प्रमुख व्यापारिक दिग्गजहरूलाई भेट्ने तयारी गरिरहेको समाचार गत हप्ता सार्वजनिक भएको थियो । देशले रियल स्टेट सङ्कट, निरन्तरको कम खपत र उच्च युवा बेरोजगारीले घेरिएको सुस्त अर्थव्यवस्थासँग जुधिरहेका अवस्थामा राजनीतिक नेतृत्व र उद्यमीबीच भएको भेटवार्तालाई उच्च महत्वका साथ हेरिएको बताइन्छ ।
चीनको सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको बैठकमा राष्ट्रपति सीलाई तालीको गडगडाहटसहित भव्य स्वागत गरिएको भिडियो चिनियाँ सञ्चारमाध्यममा सर्वत्र छाएको थियो । सिसीटिभीले तत्काल बैठकको विषयवस्तुबारे विस्तृत विवरण दिएको छैन ।
माको समावेशले अरबपति म्याग्नेटको सम्भावित सार्वजनिक पुनर्वासको सकेत गर्दछ जुन नियामकहरूसँगको विवादपछि वर्षौंपछि चर्चाबाट बाहिर छ। पूर्व अङ्ग्रेजी शिक्षक ज्याक माले चीनको सबैभन्दा परिचित र प्रभावशाली निजी कम्पनीको रूपमा प्रविधि कम्पनी अलिबाबाको स्थापना गरेका थिए ।
अलिबाबाले यसै साता आफ्नो पछिल्लो त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ र यस वर्ष अहिलेसम्म यसको शेयर ४० प्रतिशतभन्दा बढीले बढेको छ । सोमबारको बैठकमा विशाल प्रविधि कम्पनी हुवावेका संस्थापक रेन झेङफेई र विशाल विद्युतीय सवारी साधन बीवाईडीका संस्थापक वाङ चुआनफु पनि सहभागी थिए ।











