अमेरिकामा फेरि विमान दुर्घटना, उडेको ३० सेकेन्डमै आवासीय क्षेत्रमा खस्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान विमान दुर्घटनाग्रस्त भएको छ। फिलाडेल्फियाबाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए। यसमा दुई डाक्टर, दुई पाइलट, एक बिरामी र एक परिवारका सदस्य रहेको जनाइएको छ। दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार लियरजेट ५५ नामको विमानले स्थानीय समय अनुसार साँझ ६ः३० बजे उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको थियो। त्यसको ३० सेकेन्ड पछि ६।४ किलोमिटर ४ माइल टाढा दुर्घटनाग्रस्त भएको हो।

एएफपीले स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै विमान आवासीय क्षेत्रका घरमाथि खसेको र त्यस क्षेत्रका धेरै भवनमा आगो लागेको जनाएको छ। हाल उद्धार टोलीले आगो नियन्त्रणमा लिएको छ।

विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिस पनि घाइते भएको बीबीसी समाचारमा उल्लेख छ।  विमान दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।

यसअघि माघ १६ गते अमेरिकामा अकासमै सैनिक हेलिकोप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको थियो। माघ १६ गते राती रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमान र सैनिक हेलिकोप्टर एकापसमा ठोक्किएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्