पर्सा । पर्सामा तिहारका बेला पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिका–२ का ८ वर्षीय कुन्दन सहनी रहेका छन् ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान करिब ८ बजे आफ्नै घरअगाडि फलामको पाइपभित्र राखेर पटका पड्काउने क्रममा बालक घाइते भएका थिए ।
पटका विस्फोट हुँदा फलामको पाइपको दुवैतर्फबाट निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेर गम्भीर चोट लागेको थियो ।
घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८ बजेर ४५ मिनेटमा मृत घोषणा गरेका थिए ।
यस घटनाले पटका तथा विस्फोटक पदार्थको प्रयोग गर्दा हुने जोखिमलाई पुनः उजागर गरेको छ ।





