मुस्ताङ । चक्रवात ‘अर्नब’को प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाका ठप्प भएको छ भने पहिरो खस्दा जोमसोम–कोरला सडकखण्डसमेत अवरुद्ध भएको छ।
शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिएका छन्। त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ।
नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ।
हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फ जाने सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ। न्हेचुङबाट कोरला नाका जाने र जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ।
मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न सशस्त्र प्रहरीले अनुरोध गरेको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी गुरुङका अनुसार शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी छ। कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो। उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन्। हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ।
यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिएका छन्।
प्रशासनले मुस्ताङ भ्रमणमा रहेका पर्यटक, स्थानीय बासिन्दा तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई मौसमको अवस्था बुझेर सावधानी अपनाउन आग्रह गरेको छ।










