पत्रकार गिरफ्तारी प्रकरणमा सरकार र रास्वपा जवाफदेही हुनुपर्छ : प्रा. डा. कुन्दन अर्याल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकार गिरफ्तारी प्रकरणमा सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जवाफदेही हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले पक्राउ परेका पत्रकारलाई रिहा गरेर मात्रै नपुग्ने भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र संलग्न योजनाकारलाई कारबाही गर्न माग गरेका हुन्।

उनले प्रधानमन्त्री बालेन पत्रकार गिरफ्तारीप्रति असन्तुष्ट रहेको भन्ने चर्चामाथि प्रश्न उठाउँदै सरकार र रास्वपा घटनाबाट पन्छिन नमिल्ने बताएका छन्।

सरकारी संयन्त्रमाथि सरकार र सत्तारूढ दलको नियन्त्रण गुमेको हो कि भन्ने प्रश्नसमेत उनले उठाएका छन्। प्रधानमन्त्रीका कनिष्ठ सल्लाहकार, रास्वपाका पूर्वमन्त्री तथा पूर्वपत्रकार नेताका सामाजिक सञ्जालमा आएका अभिव्यक्तिपछि पनि आफ्नो आशङ्का नहटेको अर्यालको भनाइ छ।

देशमा भिजिलान्तेहरू सक्रिय हुन थालेका हुन् कि भन्ने प्रश्न गर्दै उनले पत्रकार गिरफ्तारीको घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्।

‘पक्राउ परेका पत्रकारलाई रिहा गरेर मात्र पुग्दैन, घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्छ। योजनाकारहरूलाई कारबाही पनि गरिनुपर्छ। सरकार र रास्वपा पानीमाथि ओभानो हुन पाउँदैन,’ अर्यालले लेखेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्