चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि वर्षा र हिमपातको सम्भावना

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नदेखि भने यी मौसमी प्रणालीको प्रभाव क्रमशः कम हुँदै जानेछ।

हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।

कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।

विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आइतबार भने मौसममा थप सुधार आउने देखिएको छ। देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्