काठमाडौं । न्यायपालिका र न्यायाधीशहरूमाथि पछिल्लो समय उठेका गम्भीर प्रश्न तथा विवादबारे साझा धारणा बनाउन बसेको सर्वोच्च अदालतको पूर्ण बैठक निष्कर्षविहीन बनेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका १६ मध्ये १४ जना न्यायाधीश बैठकमा सहभागी भएका थिए। वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान विदेशमा रहेकाले बैठकमा उपस्थित भएनन्।
करिब एक घण्टासम्म चलेको छलफलमा विवादित विषयमा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।
सञ्चारमाध्यममा बिचौलियाका रूपमा चर्चा गरिएका इनाम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको थियो।
बैठकमा केही न्यायाधीशले यस विषयमा आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका थिए। तर, समिति गठन गर्ने विषयमा न्यायाधीशहरूबीच सहमति जुट्न सकेन।
आजको बैठक निष्कर्षविहीन भएपछि न्यायाधीशहरू सोमबार पुनः बैठक बस्ने सहमतिसहित बाहिरिएका छन्।
सोमबारको बैठकमा विदेशमा रहेका न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमानसमेत सहभागी हुने अपेक्षा गरिएको छ। त्यतिञ्जेल यस विषयमा थप निर्णय नगरी प्रतीक्षा गर्ने समझदारी भएको जनाइएको छ।











