भोटेकोशी बाढीबारे सर्वदलीय बैठक सुरु, उच्चस्तरीय संयन्त्र गठनबारे छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन्।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन तथा राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधारका विषयमा छलफल भइरहेको छ।

त्यस्तै, सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग तथा अनुगमन गर्न संसदीय समिति अर्थात् उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको प्रक्रिया अघि बढाउने विषयलाई बैठकको मुख्य एजेन्डाका रूपमा राखिएको छ।

गत भदौ १० गते भोटेकोशीमा बाढी र पहिरो आएलगत्तै बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीसम्बन्धी १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।

उक्त साझा सङ्कल्पको बुँदा नम्बर १० मा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत तथा प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख छ।

सोही सङ्कल्पअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। अहिलेको बैठकमा सोही संयन्त्र गठनको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्