सप्तरी । शिक्षक–कर्मचारी भर्नाका लागि यसअघि स्थगित गरिएको छनोट परीक्षा पुनः सञ्चालन गर्न खोजिएपछि सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालयमा शनिबार तनाव उत्पन्न भएको छ।
परीक्षा सञ्चालनको विषयलाई लिएर स्थानीय र सुरक्षाकर्मीबीच विवाद भएपछि झडपको अवस्था सिर्जना भएको हो। विद्यालयको गेट खोल्ने विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँ प्रहरीसँग स्थानीयको विवाद भएको स्थानीयले बताएका छन्। घटनाका क्रममा केही व्यक्तिमाथि कुटपिटसमेत भएको स्थानीयको दाबी छ।
विद्यालयले प्लस टुतर्फ लेखा र अंग्रेजी विषयमा एक–एक जना तथा प्राविधिक धारतर्फ प्रशिक्षक, सहायक प्रशिक्षक र प्रशिक्षण सहायक पदमा करार नियुक्तिका लागि शनिबार छनोट परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।
यसअघि बुधबारका लागि तय गरिएको परीक्षा विवादका कारण स्थगित गरिएको थियो। तर, शनिबार पुनः परीक्षा सञ्चालन गर्न खोजिएपछि स्थानीयले विरोध गरेका थिए। त्यसपछि विद्यालय परिसरमा ठूलो संख्यामा स्थानीय भेला भएका थिए भने सुरक्षाकर्मी परिचालन गरिएको थियो।
भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै बलान बिहुल गाउँपालिका–६ का वडाध्यक्ष सूर्यकुमार दासले विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन्।
वडाध्यक्ष दासले विद्यालयका प्रधानाध्यापक भोला यादव, व्यवस्थापन समिति अध्यक्ष तथा छनोट समितिका संयोजक नथुनी दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशिकुमार यादवबीच मिलेमतो भएको आरोप लगाएका छन्।
वडाध्यक्ष दासले भर्ना प्रक्रियामा ‘सेटिङ’ भएको दाबी गर्दै निष्पक्ष छानबिन गरी परीक्षा प्रक्रिया पारदर्शी बनाउन माग गर्दै आएका छन्। उनले गत मंगलबार शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरी परिसरमा समेत धर्ना दिएका थिए।










