काठमाडौं,कार्तिक २५
गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको गठबन्धनले जनताको जीवनस्तरलाई परिवर्तन गर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल महिला संघ रुपन्देहीले भैरहवाका आयोजना गरेको कार्यक्रममा नेपाल र नेपाली जनताको जीवनस्तर उकास्न पनि पाँच दलिय गठबन्धन आवश्यक रहेको समेत बताउनुभयो । गृहमन्त्री खाँणले नेपालका ठूला ठूला परिवर्तन नेपाली कांग्रेसको अग्रसरमा नै भएको दावी गर्नुभयो । खाँणले अब देशको आवश्यकता आर्थिक सम्वृद्धि भएकाले रुपन्देहीलाई आर्थिक हवका रुपमा विकास गरिने बताउनुभयो ।
गृहमन्त्री खाँणले बुटवललाई अन्य शहरसगँ सहज रुपमा जोड्न यसै आर्थिक वर्षमा बुटवल दाउन्ने नारायणघाट सडक खण्डको बाटोमा सुरुङ्ग मार्ग बनाउने निर्णय गरीसकेको बताउनुभयो । रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएको खाँणले रुपन्देहीलाई आर्थिक केन्द्रको रुपमा विकास बिस्तार गर्न गठबन्धनलाई जित हासिल गर्नुपर्ने भन्दै सम्पुर्ण नागरिकलाई गठबन्धनलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।
त्यस्तै कांग्रेसका केन्द्रिय सदस्य डिला संग्रौलाले महिलाहरुको हकहित र अधिकारका लागी लड्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको तर्क गर्नुभयो ।













