काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । तातो हावाको असरबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने तथा शीतल हुने कपडा लगाउनुपर्दछ ।
घरबाहिरको काम बिहान वा बेलुका मात्र गर्न, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउन, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खान मन्त्रालयले आग्रह गरेको छ । अत्यधिक गर्मीका बेला जाँड–रक्सी, बोतलमा राखिएका पेयपदार्थ, सोडा र चिया, कफी, नखान स्वास्थ्यकर्मीको आग्रह छ ।









