काठमाडौं, बैशाख ८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
शनिबार काठमाडौंको माइतिघरमा प्रर्दशनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफुसंग भएका माग पुरा गर्न माग गर्नुभएको हो । उहाले आफुले अघि सारेका बिषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको अल्टिमेटम समेत दिनुभएको छ ।
प्रतिवेदन सार्वजनिक भैसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरू उपर कारवाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त गर्नुपर्ने माग उहाले गर्नुभएको छ ।
अहिले नेपालमा राजनीतिको चरम भ्रस्टीकरण,अपराधीकरण, माफियाकरण र दलालिकरण भन्दै उहाले भ्रष्टाचार गर्ने नेता कार्यकर्तालाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
प्रत्येक प्रदेशमा कम्तिमा एउटा साथै इलाम, उदयपुर र डडेल्धुरामा एक एक वटा मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण गरेर संचालनमा ल्याउने सहमति पनि कार्यान्वयन नभएको उहाको भनाइ छ ।
हाल सत्ताको नेतृत्व गरेकाले आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको उहाले आरोप लगाउनुभयो ।
उहाले तीन हप्ता भित्र नागरिक अधिकार, सशस्त्र द्वन्द कालका पिडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारवाही तथा सवै नेपालीलाई निशुल्क उपचार सम्बन्धी मागहरु पुरा गर्नुपर्ने भन्दै यसलाई सरकारले गम्भीरतपूर्वक नलिए सत्याग्रह लगायतका सशक्त दवाबमुलक कार्यक्रम शुरु गर्न वाध्य हुने चेतावनी दिनुभयो ।
उहाले रुसले युद्धका लागि लगेका सबै नेपालीहरुलाई फिर्ता बोलाउन र थप जान रोक लगाउने व्यवस्था तत्काल गर्न पनि माग गर्नुभएको छ ।









