काठमाडौं, १४ चैत । बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधीको पहुँचका लागि सम्झौता गरिएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको हो । सम्झौता पत्रमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले हस्ताक्षर गर्नुभएको थियो ।
सो अवसरमा सवास्थ्य सचिव पोखरेलले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन समझदारीले ठूलो मद्दत गर्ने बताउनुभयो । उहाले बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधी चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने र अन्य अस्पतालमा पनि विस्तार गरिने बताउनुभयो ।
सम्झौता अनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क प्राप्त गर्नेछ । समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधि पाउने मन्त्रालयले जनाएको छ ।
हाल भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधि प्राप्त गर्ने बताइएको छ ।











