नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेको बताउनुभएको छ ।
बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले पनि संविधान मिच्ने र मुलुकलाई पुनः निरंकुशता र अराजकताको भूमरीतिर धकेल्ने कसरत भइरहेकाले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको बताउनुभएको हो । मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभएको र राष्ट्रको रक्षाको ब्याटल भएको उहाले बताउनुभयो । देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएको धारणा राख्नुभयो । प्रचण्डले विस्तृत शान्ति सम्झौतापछि क्रमशः अगाडि बढेको सहमतिकै आधारमा वर्तमान गठबन्धन तयार भएको बताउनुभयो ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको भन्दै त्यस्तो गतिविधि कुनै हालतमा सह्य नहुने बताउनुभयो । भट्टराईले आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि गठबन्धनले कुनै पनि हालतमा जित्नै पर्ने धारणा राख्नुभयो । उहाँले गठबन्धनको पवित्र उद्देश्य भएकाले नेपाली जनताले समेत साथ दिने र विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभातर्फ मानुषी यमी भट्टराई उम्मेदवार हुनुहुन्छ ।