
कालीकोट, १० फागुन । कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका ९ वटा स्थानीय तहमा ९ महिनादेखि ५ वर्षमुनिका १७ हजार ४१७ जना बालबालिकालाई खोप दिने जनाएको छ।
पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो। स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो।
पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान शुरु गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने उनको भनाइ छ।
यसअघि जिल्लामा सञ्चालन गरिएको टाइफाइडविरुद्धको खोप ४९ हजार ९०६ जनाले लगाएका थिए। यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत भएको कार्यालयले जनाएको छ।