केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पाँचौं तथा अन्तिम टी–२० मा प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्यासँग अन्तिम टी–२० खेल्न लागेको हो। यी दुई बीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।
पाँच खेलको सिरिजअन्तर्गत ४ खेल सकिँदा सिरिज २–२ को बराबरीको अवस्थामा छ। आजको खेल जित्नेले सिरिज जित्नेछ। पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो।
दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । हिजो भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएको थियो ।
टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।