नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज केन्याविरुद्ध चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ ।
पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपाल २–१ ले अघि रहेको छ । हिजो भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।
त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । घरेलु टोलीविरुद्धको तेस्रो खेलमा नेपाललाई सहज भने हुनेछैन ।
किनकी केन्या पनि नेपालविरुद्ध जित निकाल्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी भोलि हुनेछ ।
टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।